१.१ समावेशीकरणसँग सम्बन्धित तथ्य, तथ्याङ्क र भावनाहरू
| Site: | NIC HUB |
| Course: | GPE KIX परियोजनाको साझेदारीमा काठमाण्डौ विश्वविद्यालयद्वारा विद्यालय अगुवाहरूका लागि व्यावसायिक शिक्षा स्रोतहरू |
| Book: | १.१ समावेशीकरणसँग सम्बन्धित तथ्य, तथ्याङ्क र भावनाहरू |
| Printed by: | Guest user |
| Date: | Sunday, 25 October 2026, 2:31 PM |
Description
विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित गर्ने केही उदाहरणहरू पढ्नुहोस्। त्यसपछि तपाईंले तिनीहरूको बञ्चितिकरणको सम्भावित कारणहरूको बारेमा सोच्नुहुनेछ।
1. परिचय
शिक्षामा समावेशीकरणको अर्थ
तपाईँको विद्यालय वा समुदायमा शिक्षाबाट को वञ्चित छन् ? अपाङ्गता भएका बालबालिका, गरिबीमा रहेका बालबालिका र द्वन्द्वको अवस्थामा रहेका बालबालिका शिक्षाबाट वञ्चित हुन सक्छन् । विद्यालयमा उपस्थित हुँदा पनि, कतिपय बालबालिकाहरूले उनीहरूको विशिष्ट सिकाइ आवश्यकताहरूका लागि उपयुक्त शिक्षण र उनीहरु अनुकूलका सुविधा तथा विधिहरु प्राप्त नगरेमा उनीहरू पूर्ण रूपमा सहभागी नहुन सक्छन् । नेपालमा लामो समयदेखि केटीहरू गुणस्तरीय शिक्षाको अवसरबाट वञ्चित थिए तर अहिले त्यो अवस्थामा सुधार आएको छ । नेपालमा विद्यालय शिक्षामा विद्यालय क्षेत्र सुधार योजना (SSDP, 2016-2022), र विद्यालय क्षेत्रका लागि समता रणनीति (2014) लागू भएदेखि यसमा सुधारहरू देखिएका छन् (UNICEF, 2021)। पहुँच र भर्नामा सकारात्मक परिवर्तनहरू देखिएका छन् तापनि, केटीहरूले स्कूल-स्तरको शिक्षा सफलतापूर्वक पूरा गर्ने कार्य अझै पनि एक महत्वपूर्ण मुद्दाको रुपमा रहेको छ ।
शिक्षामा समावेशीकरण भनेको सबै बालबालिकाहरू फरक छन् र सबैलाई उनीहरूको लिङ्ग, जाति, भाषा, पृष्ठभूमि वा क्षमताहरूको पर्वाह नगरी शिक्षामा समान अधिकार छ भन्ने अवधारणा हो ।
‘समावेशी शिक्षा’ तर्फ अघि बढिरहेका विद्यालयहरुमा सबै बालबालिकालाई साधारण विद्यालयमा जान प्रोत्साहन गरिन्छ । यसमा अपाङ्गता भएका बालबालिका पनि पर्छन् जसका लागि यो कुरा महत्त्वपूर्ण हुन्छ । यसले उनीहरूको सिक्ने अवसरहरू बढाउँछ किनभने तिनीहरू अन्य बच्चाहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउँछन । उनीहरूसँग कुराकानी गर्ने बालबालिकालाई पनि फाइदा हुन्छ । तिनीहरूले आफ्ना सबै साथीहरूलाई आदर गर्न र मूहत्व दिन र विविधताको कदर गर्न सिक्छन् ।
तर शिक्षामा समावेशीकरण भनेको विद्यालयको पहुँचमा नभएका बञ्चितकृत वा पूर्ण रूपमा सहभागी नहुने सबै बालबालिकालाई समावेश गर्नु हो ।
संसारका धेरै देशहरूमा, सबै बालबालिकाहरू अझै पूर्ण रूपमा विद्यालयमा समावेश भएका छैनन्। विद्यालयमा आउने अवरोधहरूमा घरायसी गरिबी, लिङ्ग, अभिभावकको शिक्षाको स्तर, अपाङ्गता, द्वन्द्व र असुरक्षालगायत अन्य थुप्रै कारणहरू समावेश छन। नेपालमा ५ देखि १२ वर्षका ७ लाख ७० हजार बालबालिका अझै विद्यालय बाहिर छन् (UNICEF, 2021)। तीमध्ये ठूलो संख्यामा केटीहरू छन् । शिक्षामा कम गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लैङ्गिक, आर्थिक-सामाजिक तथा जातीय विभेद जस्ता समस्याहरू शिक्षामा व्याप्त छन् । गरिबी, सामाजिक बहिष्करण, अपाङ्गता, बसाइँसराइ, बालश्रम, सामाजिक मूल्यमान्यता र लैङ्गिक भेदभावका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित रूपमा उपस्थित हुन सक्दैनन् । यसलाई सुधार गर्न समुदायमा आधारित प्रारम्भिक बाल शिक्षा र अभिभावक शिक्षाको माध्यमबाट पिछडिएका क्षेत्रमा प्रारम्भिक सिकाइमा पहुँच बढाउने प्रयास भइरहेको छ । प्रमाणमा आधारित नीतिको पैरवी मार्फत प्रारम्भिक बाल शिक्षाको गुणस्तर बढाउने योजना हाल सञ्चालनमा छ । बहुभाषिक शिक्षणसिकाइका लागि नवीन प्रयोग र अनुसन्धानको प्रयोग गरी एकीकृत पाठ्यक्रममार्फत आधारभूत तहका कक्षा १-३ का बालिकाहरूको शैक्षिक गुणस्तर वृद्धिमा सकारात्मक प्रभाव देखिएको छ । शैक्षिक व्यवस्थापन सूचना प्रणालीमार्फत अपाङ्गता भएका लगायत विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन, अनुगमन बढाउने र नयाँ सङ्घीय संरचनाअन्तर्गत स्थानीय सरकारलाई योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने नीतिअनुरुप अभिभावकहरू जागरुक भएका छन् र यसले छात्राहरुको सहभागिता लगायत समग्र शैक्षिक क्षेत्रमा सुधार आएको छ । ।
विद्यालयका अगुवाहरू र व्यवस्थापन समितिहरूले सबै विद्यार्थीहरू विद्यालय जान र विद्यालयमा सिकाइमा सहभागी हुने र सिक्ने अवसरहरू प्राप्त गर्न सक्षम छन् भनी सुनिश्चित गर्न धेरै महत्त्वपूर्ण भूमिका खेल्छन्: “सफल समावेशी विद्यालयहरूमा सम्भवतः सबैभन्दा महत्त्वपूर्ण भूमिका प्रधानाध्यापकको हुन्छ । परिवर्तनका लागि योजना कार्यान्वयन गर्न, सेवा सुधार गर्न र नयाँ योजना तय गर्नमा विद्यालय प्रधानाध्यापकको सक्रिय सहभागिता सफलताको सबैभन्दा महत्त्वपूर्ण सुचक हो" (समावेशी विद्यालय संजाल, 2019) ।
सबै बालबालिकाले सिक्न सक्ने अवस्था सिर्जना गर्न उनीहरूले उपलब्ध सहयोग (सामुदायिक अगुवाहरू र सदस्यहरू, शिक्षकहरू, परिवारका सदस्यहरू, विद्यार्थीहरू, स्थानीय स्वास्थ्य सेवीहरू, र शिक्षा अधिकारीहरूबाट) उपलब्ध गराउने कुरा सुनिश्चित गर्ने जिम्मेवारी स्कूलका अगुवाहरूको हो । यो अवधारणान नै समावेशी विद्यालय हो ।
हामी तपाईंलाई पहिलो क्रियाकलाप र यस खण्डको अन्त्यमा दिइएका स्रोतहरूमा समावेश गर्ने विभिन्न विषयहरुबारे पत्ता लगाउन आमन्त्रित गर्दछौं।
2. ६ विद्यार्थीका कथाहरू
१ . किशोर
म आठ वर्षको भएँ र म कक्षा २ मा छु । म एक वर्षको हुँदा मेरो बुबा गुमाएको हुँ । उहाँलाई के भयो मलाई थाहा छैन, तर मेरी आमा भन्नुहुन्छ कि वहाँ साउदी अरबमा एक पसलमा सहायकको रूपमा काम गर्दै गर्दा उहाँको मृत्यु भयो। वहाँलाई कारले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको रे भन्नुहुन्छ । मेरो काका, काकी र हजुरआमाले सधैं आमालाई गाली गर्नुहुनछ । वहांहरू भन्नुहुन्छ, "तिमीले आफ्नो श्रीमानलाई खायौं।" त्यसैले, मेरी आमा कहिलेकाहीँ यो परिवारसँग बस्नुहुनन र हामी मेरो मामाको घर जान्छौं। त्यसैले म विद्यालयमा नियमित छैन । मेरी आमाको आम्दानी हुने कुनै काम पनि छैन । म ठूलो मान्छे बन्न र मेरी आमालाई मद्दत गर्न चाहन्छु तर …….. .।
२. शर्मिला
म ११ वर्षको भएँ, कक्षा ४ मा पढ्दै छु र मलाई विद्यालय जान मन पर्छ । म ठूलो भएपछि डाक्टर बन्न चाहन्छु । मेरा आमाबाबु शिक्षित हुनुहुन्न तर स्कूल हाम्रो घरको धेरै नजिक भएकाले उहाँहरूले मलाई स्कूल जान दिनुभयो र स्कुलमा सबै कुरा निःशुल्क छ। मेरो बुबा सोच्नुहुन्छ कि छोरीहरू श्रीमानको घर जान्छन् र उनीहरूलाई शिक्षा दिनु भनेको अर्को परिवारको लागि तयार गर्नु हो । मलाई घरको काम गर्ने गरी पठाउनुका लागि वहाँ सहरमा एउटा परिवार खोज्दै हुनुहुन्छ म घरको काम राम्ररी गर्न सक्छु भन्ने उनलाई लाग्छ। यदि मैले स्कूल छोडे भने, मेरो डाक्टर बन्ने सपना चकनाचूर हुनेछ ।
३. बिमला राई
माओवादी द्वन्दकालमा मेरो बुबाको हत्या भयो । पढाइ नभएकी मेरी आमाले मलाई र अहिले विवाह गरिसकेका दिदीबहिनीलाई शिक्षा दिन गाह्रो भयो । उहाँले पनि शिक्षा पाउनु भएको छैन । कक्षा ३ सम्म विद्यालय गए पनि मेरो जीवनमा दुर्भाग्य आयो । मेरो मेरुदण्डमा ट्युमरको गलत शल्यक्रियाका कारण म ८ वर्षको हुँदा मलाई पक्षघात भयो । त्यसबेलादेखि, म व्हीलचेयर र ओछ्यानमा छु । आमा काममा गएकाले धेरैजसो घरमा एक्लै हुन्थें। मलाई एक्लो महसुस भयो। अल्छीपन र एक्लोपनबाट छुटकारा पाउन मैले तस्विर बनाउन थालें । मेरो चित्र हेरेपछि आफन्त र छिमेकीले प्रशंसा गरे र अझै धेरै गर्न हौसला दिए । यदि मैले तस्बिरहरू कोर्नमा समय खर्च नगरेको भए, एक्लोपन र निरासाले म अहिले बाँच्न सक्दिन थिएँ होला । मलाई लुगा लगाउन र शौचालयको लागि अरुको मदत चाहिन्छ। म अहिले भक्तपुरको राम्रो स्रोत नभएको गैरसरकारी संस्थाको आश्रयमा छु । म आफ्नो पढाइ जारी राख्न र मेरो चित्र कोर्ने कला सिक्नको लागि स्कूल जान चाहन्छु।
४. कबीर
मलाई मेरो हजुरबुवा ललितपुरको हाम्रो भाडाको कोठामा आइपुग्नु भएको याद छ । म छ वर्षको मात्र थिएँ। उहाँले मलाई गाउँमै जाने र उहाँसंग केही दिन बस्ने बताउनु भएको थियो । "मेरो बुवा र आमा कहाँ त?" मैले यति सोधेको याद आउँछ । उहाँले केही दिनमा मलाई लिन आउने बताएर जानु भयो । मैले मेरा आमाबाबुलाई बिदाइ गरें र गाउँमा हाम्रो पुर्खाको घर फर्किएँ, बाहिर केही बाख्राहरू बाँधिएका एउटा खरको झुपडी थियो । दिन बित्दै गए । म एक घण्टा हिँडेनु पर्ने नजिकैको विद्यालयमा भर्ना भएँ । मेरा आमाबाबुबाट कुनै खबर आएन । यो एक वर्ष पछि मात्र मैले बुझें कि मेरा आमाबाबु छुट्टिनुभएको रहेछ र एक्लै बस्ने मेरो हजुरबुबालाई मेरो हेरचाह गर्न मनाउनुभएको रहेछ। मेरो विद्यालयमा राष्ट्रिय स्तरको परीक्षा नजिक आउँदैछ र मेरो जन्म प्रमाणपत्र मसँग नभएकोले म त्यो परीक्षामा भाग लिन सक्दिनँ भनी मेरा शिक्षकहरूले बताएका छन् । यहाँ आएदेखि मैले मेरा आमाबुवा कहाँ हुनुहुन्छ भन्ने मलाई थाहा छैन । म मेरो जन्म प्रमाणपत्र बिना मेरो बिद्यालय शिक्षा जारी राख्न सक्दिन ।
५. सोमनाथ
म १९ वर्षको भएँ । मलाई काठका चीजहरू बनाउन मन पर्छ। अंग्रेजीमा लेख्न मन लाग्दैन । मेरो शिक्षकले अंग्रेजीमा नलेखेको खण्डमा म परीक्षामा पास हुन सक्दिन भन्नुहुन्छ । मलाई लेख्न गाह्रो छ तर म काठबाट सुन्दर कलम बनाउन सक्छु। यो धेरै हास्यास्पद सुनिन्छ होला। कलम बनाउन सक्छु तर लेख्न सक्दिन । लेख्न नै पर्ने हो र? टेबुल र कुर्सी बेचेर पैसा कमाउन सक्छु । यो महिनामा मैले ६ वटा कुर्सी बनाएको छु । म अर्को हप्ता बजारमा बेच्न जाँदैछु । मेरो घरमा बहिनी छिन् । म १० वर्षको हुँदा हाम्रा बुबाआमाले हामीलाई छोडेर गए । म र मेरो बहिनीको लागि नजिकैको सिकर्मीको पसलमा काम गरेर थोरै पैसा कमाउँदै आएको छु । मेरी बहिनीले हामी दुवैको लागि अध्ययन गर्नेछिन् । उनी नर्स बनेर धेरै पैसा कमाउने बताउँछिन् । म धेरै खुशी छु तर मैले उनको शिक्षाको लागि पुग्ने पैसा कमाउन सकुँला र? नसके के होला मेरी बहिनीको भविष्य?