१.१ समावेशीकरणसँग सम्बन्धित तथ्य, तथ्याङ्क र भावनाहरू

2. ६ विद्यार्थीका कथाहरू

१ . किशोर

म आठ वर्षको भएँ र म कक्षा २ मा छु । म एक वर्षको हुँदा मेरो बुबा गुमाएको हुँ । उहाँलाई के भयो मलाई थाहा छैन, तर मेरी आमा भन्नुहुन्छ कि वहाँ साउदी अरबमा एक पसलमा सहायकको रूपमा काम गर्दै गर्दा उहाँको मृत्यु भयो। वहाँलाई कारले ठक्कर दिएको र घटनास्थलमै मृत्यु भएको रे भन्नुहुन्छ । मेरो काका, काकी र हजुरआमाले सधैं आमालाई गाली गर्नुहुनछ  । वहांहरू भन्नुहुन्छ, "तिमीले आफ्नो श्रीमानलाई खायौं।" त्यसैले, मेरी आमा कहिलेकाहीँ यो परिवारसँग बस्नुहुनन र  हामी मेरो मामाको घर जान्छौं। त्यसैले म विद्यालयमा नियमित छैन । मेरी आमाको आम्दानी हुने कुनै काम पनि छैन । म ठूलो मान्छे बन्न र मेरी आमालाई मद्दत गर्न चाहन्छु तर …….. .।

२. शर्मिला

म ११ वर्षको भएँ, कक्षा ४ मा पढ्दै छु र मलाई विद्यालय जान मन पर्छ । म ठूलो भएपछि डाक्टर बन्न चाहन्छु । मेरा आमाबाबु शिक्षित हुनुहुन्न तर स्कूल हाम्रो घरको धेरै नजिक भएकाले उहाँहरूले मलाई स्कूल जान दिनुभयो  र स्कुलमा सबै कुरा निःशुल्क छ। मेरो बुबा सोच्नुहुन्छ कि छोरीहरू श्रीमानको घर जान्छन् र उनीहरूलाई शिक्षा दिनु भनेको अर्को परिवारको लागि तयार गर्नु हो । मलाई घरको काम गर्ने गरी पठाउनुका लागि वहाँ सहरमा एउटा परिवार खोज्दै हुनुहुन्छ म घरको काम राम्ररी गर्न सक्छु भन्ने उनलाई लाग्छ। यदि मैले स्कूल छोडे भने, मेरो डाक्टर बन्ने सपना चकनाचूर हुनेछ ।

३. बिमला राई

माओवादी द्वन्दकालमा मेरो बुबाको हत्या भयो । पढाइ नभएकी मेरी आमाले मलाई र अहिले विवाह गरिसकेका दिदीबहिनीलाई शिक्षा दिन गाह्रो भयो  । उहाँले पनि शिक्षा पाउनु भएको छैन । कक्षा ३ सम्म विद्यालय गए पनि मेरो जीवनमा दुर्भाग्य आयो । मेरो मेरुदण्डमा ट्युमरको गलत शल्यक्रियाका कारण म ८ वर्षको हुँदा मलाई पक्षघात भयो । त्यसबेलादेखि, म व्हीलचेयर र ओछ्यानमा छु । आमा काममा गएकाले धेरैजसो घरमा एक्लै हुन्थें। मलाई एक्लो महसुस भयो। अल्छीपन र एक्लोपनबाट छुटकारा पाउन मैले तस्विर बनाउन थालें । मेरो चित्र हेरेपछि आफन्त र छिमेकीले प्रशंसा गरे र अझै धेरै गर्न हौसला दिए । यदि मैले तस्बिरहरू कोर्नमा समय खर्च नगरेको भए, एक्लोपन र निरासाले म अहिले बाँच्न सक्दिन थिएँ होला । मलाई लुगा लगाउन र शौचालयको लागि अरुको मदत चाहिन्छ। म अहिले भक्तपुरको राम्रो स्रोत नभएको गैरसरकारी संस्थाको आश्रयमा छु । म आफ्नो पढाइ जारी राख्न र मेरो चित्र कोर्ने कला सिक्नको लागि स्कूल जान चाहन्छु।

४. कबीर

मलाई मेरो हजुरबुवा ललितपुरको हाम्रो भाडाको कोठामा आइपुग्नु भएको याद छ । म छ वर्षको मात्र थिएँ। उहाँले मलाई गाउँमै जाने र उहाँसंग केही दिन बस्ने बताउनु भएको थियो । "मेरो बुवा र आमा कहाँ त?" मैले यति सोधेको याद आउँछ । उहाँले केही दिनमा मलाई लिन आउने बताएर जानु भयो । मैले मेरा आमाबाबुलाई बिदाइ गरें र गाउँमा हाम्रो पुर्खाको घर फर्किएँ, बाहिर केही बाख्राहरू बाँधिएका एउटा खरको झुपडी थियो । दिन बित्दै गए । म एक घण्टा हिँडेनु पर्ने  नजिकैको विद्यालयमा भर्ना भएँ । मेरा आमाबाबुबाट कुनै खबर आएन । यो एक वर्ष पछि मात्र मैले बुझें कि मेरा आमाबाबु छुट्टिनुभएको रहेछ र एक्लै बस्ने मेरो हजुरबुबालाई मेरो हेरचाह गर्न मनाउनुभएको रहेछ। मेरो विद्यालयमा राष्ट्रिय स्तरको परीक्षा नजिक आउँदैछ र मेरो जन्म प्रमाणपत्र मसँग नभएकोले म त्यो परीक्षामा भाग लिन सक्दिनँ भनी मेरा शिक्षकहरूले बताएका छन् । यहाँ आएदेखि मैले मेरा आमाबुवा कहाँ हुनुहुन्छ भन्ने मलाई थाहा छैन । म मेरो जन्म प्रमाणपत्र बिना मेरो बिद्यालय शिक्षा जारी राख्न सक्दिन ।

५. सोमनाथ

म १९ वर्षको भएँ । मलाई काठका चीजहरू बनाउन मन पर्छ। अंग्रेजीमा लेख्न मन लाग्दैन । मेरो शिक्षकले अंग्रेजीमा नलेखेको खण्डमा म परीक्षामा पास हुन सक्दिन भन्नुहुन्छ । मलाई लेख्न गाह्रो छ तर म काठबाट सुन्दर कलम बनाउन सक्छु। यो धेरै हास्यास्पद सुनिन्छ होला। कलम बनाउन सक्छु तर लेख्न सक्दिन । लेख्न नै पर्ने हो र? टेबुल र कुर्सी बेचेर पैसा कमाउन सक्छु । यो महिनामा मैले ६ वटा कुर्सी बनाएको छु । म अर्को हप्ता बजारमा बेच्न जाँदैछु । मेरो घरमा बहिनी छिन् । म १० वर्षको हुँदा हाम्रा बुबाआमाले हामीलाई छोडेर गए । म र मेरो बहिनीको लागि नजिकैको सिकर्मीको पसलमा काम गरेर थोरै पैसा कमाउँदै आएको छु । मेरी बहिनीले हामी दुवैको लागि अध्ययन गर्नेछिन् । उनी नर्स बनेर धेरै पैसा कमाउने बताउँछिन् । म धेरै खुशी छु तर मैले उनको शिक्षाको लागि पुग्ने पैसा कमाउन सकुँला र? नसके के होला मेरी बहिनीको भविष्य?