१.१ समावेशीकरणसँग सम्बन्धित तथ्य, तथ्याङ्क र भावनाहरू
1. परिचय
शिक्षामा समावेशीकरणको अर्थ
तपाईँको विद्यालय वा समुदायमा शिक्षाबाट को वञ्चित छन् ? अपाङ्गता भएका बालबालिका, गरिबीमा रहेका बालबालिका र द्वन्द्वको अवस्थामा रहेका बालबालिका शिक्षाबाट वञ्चित हुन सक्छन् । विद्यालयमा उपस्थित हुँदा पनि, कतिपय बालबालिकाहरूले उनीहरूको विशिष्ट सिकाइ आवश्यकताहरूका लागि उपयुक्त शिक्षण र उनीहरु अनुकूलका सुविधा तथा विधिहरु प्राप्त नगरेमा उनीहरू पूर्ण रूपमा सहभागी नहुन सक्छन् । नेपालमा लामो समयदेखि केटीहरू गुणस्तरीय शिक्षाको अवसरबाट वञ्चित थिए तर अहिले त्यो अवस्थामा सुधार आएको छ । नेपालमा विद्यालय शिक्षामा विद्यालय क्षेत्र सुधार योजना (SSDP, 2016-2022), र विद्यालय क्षेत्रका लागि समता रणनीति (2014) लागू भएदेखि यसमा सुधारहरू देखिएका छन् (UNICEF, 2021)। पहुँच र भर्नामा सकारात्मक परिवर्तनहरू देखिएका छन् तापनि, केटीहरूले स्कूल-स्तरको शिक्षा सफलतापूर्वक पूरा गर्ने कार्य अझै पनि एक महत्वपूर्ण मुद्दाको रुपमा रहेको छ ।
शिक्षामा समावेशीकरण भनेको सबै बालबालिकाहरू फरक छन् र सबैलाई उनीहरूको लिङ्ग, जाति, भाषा, पृष्ठभूमि वा क्षमताहरूको पर्वाह नगरी शिक्षामा समान अधिकार छ भन्ने अवधारणा हो ।
‘समावेशी शिक्षा’ तर्फ अघि बढिरहेका विद्यालयहरुमा सबै बालबालिकालाई साधारण विद्यालयमा जान प्रोत्साहन गरिन्छ । यसमा अपाङ्गता भएका बालबालिका पनि पर्छन् जसका लागि यो कुरा महत्त्वपूर्ण हुन्छ । यसले उनीहरूको सिक्ने अवसरहरू बढाउँछ किनभने तिनीहरू अन्य बच्चाहरूसँग अन्तरक्रिया गर्ने अवसर पाउँछन । उनीहरूसँग कुराकानी गर्ने बालबालिकालाई पनि फाइदा हुन्छ । तिनीहरूले आफ्ना सबै साथीहरूलाई आदर गर्न र मूहत्व दिन र विविधताको कदर गर्न सिक्छन् ।
तर शिक्षामा समावेशीकरण भनेको विद्यालयको पहुँचमा नभएका बञ्चितकृत वा पूर्ण रूपमा सहभागी नहुने सबै बालबालिकालाई समावेश गर्नु हो ।
संसारका धेरै देशहरूमा, सबै बालबालिकाहरू अझै पूर्ण रूपमा विद्यालयमा समावेश भएका छैनन्। विद्यालयमा आउने अवरोधहरूमा घरायसी गरिबी, लिङ्ग, अभिभावकको शिक्षाको स्तर, अपाङ्गता, द्वन्द्व र असुरक्षालगायत अन्य थुप्रै कारणहरू समावेश छन। नेपालमा ५ देखि १२ वर्षका ७ लाख ७० हजार बालबालिका अझै विद्यालय बाहिर छन् (UNICEF, 2021)। तीमध्ये ठूलो संख्यामा केटीहरू छन् । शिक्षामा कम गुणस्तर र असमान पहुँच, भौगोलिक विकटता, लैङ्गिक, आर्थिक-सामाजिक तथा जातीय विभेद जस्ता समस्याहरू शिक्षामा व्याप्त छन् । गरिबी, सामाजिक बहिष्करण, अपाङ्गता, बसाइँसराइ, बालश्रम, सामाजिक मूल्यमान्यता र लैङ्गिक भेदभावका कारण सबै बालबालिका विद्यालयमा भर्ना हुन र नियमित रूपमा उपस्थित हुन सक्दैनन् । यसलाई सुधार गर्न समुदायमा आधारित प्रारम्भिक बाल शिक्षा र अभिभावक शिक्षाको माध्यमबाट पिछडिएका क्षेत्रमा प्रारम्भिक सिकाइमा पहुँच बढाउने प्रयास भइरहेको छ । प्रमाणमा आधारित नीतिको पैरवी मार्फत प्रारम्भिक बाल शिक्षाको गुणस्तर बढाउने योजना हाल सञ्चालनमा छ । बहुभाषिक शिक्षणसिकाइका लागि नवीन प्रयोग र अनुसन्धानको प्रयोग गरी एकीकृत पाठ्यक्रममार्फत आधारभूत तहका कक्षा १-३ का बालिकाहरूको शैक्षिक गुणस्तर वृद्धिमा सकारात्मक प्रभाव देखिएको छ । शैक्षिक व्यवस्थापन सूचना प्रणालीमार्फत अपाङ्गता भएका लगायत विद्यालय बाहिर रहेका बालबालिकाको तथ्याङ्क सङ्कलन, अनुगमन बढाउने र नयाँ सङ्घीय संरचनाअन्तर्गत स्थानीय सरकारलाई योजना तथा कार्यक्रम कार्यान्वयन गर्न सहयोग गर्ने नीतिअनुरुप अभिभावकहरू जागरुक भएका छन् र यसले छात्राहरुको सहभागिता लगायत समग्र शैक्षिक क्षेत्रमा सुधार आएको छ । ।
विद्यालयका अगुवाहरू र व्यवस्थापन समितिहरूले सबै विद्यार्थीहरू विद्यालय जान र विद्यालयमा सिकाइमा सहभागी हुने र सिक्ने अवसरहरू प्राप्त गर्न सक्षम छन् भनी सुनिश्चित गर्न धेरै महत्त्वपूर्ण भूमिका खेल्छन्: “सफल समावेशी विद्यालयहरूमा सम्भवतः सबैभन्दा महत्त्वपूर्ण भूमिका प्रधानाध्यापकको हुन्छ । परिवर्तनका लागि योजना कार्यान्वयन गर्न, सेवा सुधार गर्न र नयाँ योजना तय गर्नमा विद्यालय प्रधानाध्यापकको सक्रिय सहभागिता सफलताको सबैभन्दा महत्त्वपूर्ण सुचक हो" (समावेशी विद्यालय संजाल, 2019) ।
सबै बालबालिकाले सिक्न सक्ने अवस्था सिर्जना गर्न उनीहरूले उपलब्ध सहयोग (सामुदायिक अगुवाहरू र सदस्यहरू, शिक्षकहरू, परिवारका सदस्यहरू, विद्यार्थीहरू, स्थानीय स्वास्थ्य सेवीहरू, र शिक्षा अधिकारीहरूबाट) उपलब्ध गराउने कुरा सुनिश्चित गर्ने जिम्मेवारी स्कूलका अगुवाहरूको हो । यो अवधारणान नै समावेशी विद्यालय हो ।
हामी तपाईंलाई पहिलो क्रियाकलाप र यस खण्डको अन्त्यमा दिइएका स्रोतहरूमा समावेश गर्ने विभिन्न विषयहरुबारे पत्ता लगाउन आमन्त्रित गर्दछौं।